हेडलाइन

काभ्रेमा ७१ जनाले परित्याग गरे नेपाली नागरिकता, १० जनाको नागरिकता रद्द

यही अवधिमा ६७ वटा गैर आवासीय नागरिकता जारी भएको छ भने १० जनाको नागरिकता रद्द भएको छ ।

२९ असार, काभ्रेपलाञ्चोक । काभ्रेमा पछिल्लो एक वर्षको अवधिमा ७१ जनाले नागरिकता परित्याग गरेको पाइएको छ ।

विस २०८१ साउनदेखि २०८२ असार २४ गतेको अवधिमा ७१ जनाले नेपाली नागरिकता परित्याग गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार यही अवधिमा ६७ वटा गैर आवासीय नागरिकता जारी भएको छ भने १० जनाको नागरिकता रद्द भएको छ ।

अदालतको आदेशअनुसार ती १० जनाको नागरिकता रद्द भएको सीडीओ ढकालले बताए । यस्तै यो अवधीमा २ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् ।

जिल्लामा नयाँ नागरिकता बनाउने भन्दा नागरिकताको प्रतिलिपि र राहदानी बनाउनेको संख्या धेरै देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा काभ्रेमा नयाँ भन्दा ५ सय ८६ जनाले प्रतिलिपि लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको तथ्यांक अनुसार जिल्लामा ९ हजार २ सय ५९ जनाले नयाँ नागरिकता बनाएका छन् भने  ९ हजार ८ सय ४५ जनाले प्रतिलिपि लिएका छन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यो अवधीमा ७१ जनाले नागरिकता परित्याग गरेका छन् ।

यो अवधीमा १५ हजार ९३ जनाले राहदानीका लागि आवेदन दर्ता गराएकोमा अघिल्लो आर्थिक वर्षको बाँकीसहित गरेर १५ हजार ६ सय ६९ वटा राहदानी यो वर्ष वितरण गरिएको छ ।