हेडलाइन

इजरायल फेरि इरानमाथि युद्ध गर्न तयारीमा?

गत महिना १२ दिनसम्म चलेको इजरायल–इरान युद्धलाई इजरायली नेताहरूले सफलताका रूपमा हेरेका छन्। युद्धमा केही उच्च इरानी सैन्य अधिकारी मारिए, इरानको रक्षा क्षमता कमजोर पारियो र अमेरिकी सहयोगमा इरानको फोर्दोस्थित आणविक केन्द्रमा हमला गरिएको थियो।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चेतावनी दिँदै, आवश्यक परे पुनः आक्रमण गर्न पछि नहट्ने बताएका थिए। उनीहरूको भनाइबाट स्पष्ट संकेत मिलेको छ कि इजरायल इस्लामी गणराज्य इरानमाथि अर्को विनाशकारी युद्धको मौका खोजिरहेको छ।

यद्यपि, विश्लेषकहरूका अनुसार इजरायलले यस्तो कदम चाल्न अमेरिकी अनुमतिबिना अघि बढ्न सक्दैन। अमेरिका यसपटक फेरि खुला समर्थन दिन तयार हुन्छ कि हुँदैन भन्ने कुरा अझै अनिश्चित छ।

गत जुन महिनाको मध्यतिर इजरायलले आकस्मिक हमला गर्दै युद्धको सुरुआत गरेको थियो। उक्त युद्धमा एक हजारभन्दा बढी इरानी र २९ जना इजरायली नागरिकको ज्यान गएको थियो। इजरायलले आफ्नो हमला पूर्वप्रतिक्रियात्मक र आत्मरक्षाका लागि भएको दाबी गर्दै आएको छ। इरान भने लामो समयदेखि आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ।

इरानी राष्ट्रपति मासुद पेज़ेशकियानले वर्तमान युद्धविराम कति टिक्ने भन्नेमा शंका व्यक्त गरे। “हामी इजरायली सैन्य कदमको लागि पूर्ण रूपमा तयारी अवस्थामा छौं र हाम्रो सेनाले फेरि इजरायलको गहिरो भूभागसम्म प्रहार गर्न सक्ने क्षमता राख्दछ,” यसै साता अन्तराष्ट्रिय सञ्चार माध्यमसंग कुरा गर्दै उनले भने।

युद्धको कारणले क्षेत्रीय तनाव झन् चुलिँदै गएको छ। इजरायलको सम्भावित दोस्रो युद्ध योजना नजिकिँदै जाँदा मध्यपूर्व पुनः अस्थिरतातर्फ उन्मुख देखिएको छ।