फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनद्वारा प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिने निर्णयको अमेरिकाले कडा विरोध जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार राति सामाजिक सञ्जाल एक्स मा लेख्दै म्याक्रोनको कदमलाई “लापरवाह निर्णय” भन्दै आलोचना गरे।
रुबियोले लेखे, “फ्रान्सको यस्तो निर्णयले केवल हमासको प्रचारलाई सहयोग गर्छ र शान्ति प्रक्रियालाई पछाडि धकेल्छ।”
साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभा अन्तर्गत दुई-राष्ट्र समाधानको उद्देश्यका साथ आयोजना गरिने सम्मेलनमा सहभागी नहुने घोषणा गरेको छ।
यसअघि म्याक्रोनले आफ्नो देशको ऐतिहासिक प्रतिबद्धतालाई निरन्तरता दिँदै सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा फ्रान्सले प्यालेस्टाइनलाई सार्वभौम राष्ट्रको रूपमा औपचारिक मान्यता दिने घोषणा गरेका थिए।
संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये अहिलेसम्म कम्तीमा १४२ देशहरूले प्यालेस्टाइनलाई मान्यता दिइसकेका छन् वा प्रक्रिया अघि बढाइसकेका छन्। तर अमेरिका, बेलायत, जर्मनीजस्ता पश्चिमी शक्तिशाली मुलुकहरूले अझै मान्यता दिएका छैनन्।
युरोपेली संघका सदस्य राष्ट्रहरू नर्वे, आयरल्याण्ड र स्पेनले यसै वर्ष मे महिनामा मान्यता दिने प्रक्रिया सुरु गरिसकेको जानकारी दिएका थिए।
यद्यपि, म्याक्रोनको निर्णयले फ्रान्स जो इजरायलको प्रमुख सहयोगी र जी–७ समूहको सदस्य राष्ट्र पनि हो। प्यालेस्टाइनलाई मान्यता दिने युरोपको सबैभन्दा ठूलो र प्रभावशाली मुलुक बनाउनेछ।
इजरायलले पनि यस निर्णयको विरोध गर्दै फ्रान्सले यस्तो “एकतर्फी कदम” नउठाउनुपर्ने बताएको छ।
यो घटनाक्रम गाजामा भइरहेको इजरायली आक्रमण र मानवीय संकटसँगै अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलनमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
