
नेपाली विद्यार्थीले विदेशमा पढ्नका लागि धितो वा जमानीको झन्झट व्यहोर्नु नपर्ने भएको छ। अमेरिकास्थित एमपावर फाइनान्सिङ नामक संस्थाले पहिलोपटक नेपालका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम १ लाख अमेरिकी डलरसम्म (झन्डै १ करोड ३० लाख रुपैयाँ)**को शैक्षिक ऋण सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
यो योजना विशेष रूपमा स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि लागू हुनेछ। विद्यार्थीले कुनै सम्पत्ति धितो राख्नुपर्ने वा कसैलाई ग्यारेन्टर बनाउनु पर्ने छैन।
हाल ३२ हजारभन्दा बढी नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन्। यो संख्या एक वर्षमै करिब ४२ प्रतिशतले वृद्धि भएको हो। यद्यपि, धेरै विद्यार्थीका लागि विदेशमा अध्ययन खर्च जुटाउनु अझै पनि ठूलो चुनौती बनेको छ, किनभने नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाले जग्गा–जमिन धितो राख्नुपर्ने वा अमेरिकामा जमानी खोज्नुपर्ने सर्त राख्ने गर्छन्।
यही समस्याको समाधानका लागि वाशिङ्टन डी.सी.मा रहेको एमपावर फाइनान्सिङ अगाडि आएको हो।
एमपावर फाइनान्सिङले विद्यार्थीको पारिवारिक सम्पत्ति होइन, उनको विश्वविद्यालय प्रवेश, अध्ययन क्षेत्र र भविष्यको आम्दानी क्षमतालाई आधार मानेर ऋण उपलब्ध गराउँछ।
यस प्रणालीमार्फत एमपावर फाइनान्सिङले बंगलादेश, पाकिस्तान र अफ्रिकाका २० हजारभन्दा बढी विद्यार्थीलाई शिक्षा ऋण उपलब्ध गराइसकेको जनाएको छ। अब यो सुविधा नेपाली विद्यार्थीका लागि पनि खुला भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
विद्यार्थीले २ हजार एक डलरदेखि १ लाख डलरसम्म ऋणका लागि आवेदन दिन सक्नेछन्। यस ऋणमा ट्युसन शुल्क, बसोबास खर्च तथा अन्य अध्ययन–सम्बन्धी खर्चहरू समेत समेटिएका छन्।
ऋण आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन हुनेछ। साथै, स्थिर ब्याजदर र पारदर्शी किस्ता योजना रहने भएकाले विद्यार्थी र अभिभावक दुवैका लागि खर्च व्यवस्थापनमा सहजता र स्पष्टता आउने विश्वास संस्थाले व्यक्त गरेको छ।
