फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सले प्यालेस्टाइनलाई एक सार्वभौम राष्ट्रको रूपमा औपचारिक मान्यता दिने घोषणा गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै म्याक्रोनले भने, “मध्यपूर्वमा न्यायपूर्ण र दिगो शान्तिप्रति फ्रान्सको ऐतिहासिक प्रतिबद्धताको निरन्तरतामा, मैले फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिने निर्णय गरेको छु।”
उनले थपे, “यस वर्ष सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा म यो निर्णय औपचारिक रूपमा घोषणा गर्नेछु।”
यो कदमसँगै फ्रान्स युरोपको सबैभन्दा ठूलो र प्रभावशाली मुलुकको रूपमा प्यालेस्टाइनलाई मान्यता दिने देशमा समावेश हुन लागेको हो। यसअघि युरोपेली संघका सदस्य राष्ट्रहरू नर्वे, आयरल्याण्ड र स्पेनले पनि मान्यता दिने प्रक्रिया सुरु गरिसकेको जनाएका थिए।
हालसम्म संयुक्त राष्ट्रसंघका १९३ सदस्य देशहरूमध्ये कम्तीमा १४२ राष्ट्रहरूले प्यालेस्टाइनलाई मान्यता दिइसकेका छन् वा दिन लागेका छन्। यद्यपि, अमेरिका, बेलायत र जर्मनीजस्ता केही शक्तिशाली पश्चिमी मुलुकहरूले अझै मान्यता दिएका छैनन्।
फ्रान्सको यो निर्णय यस्तो समय आएको छ, जब गाजामा इजरायली आक्रमणका कारण युरोपभरि चर्को आक्रोश बढ्दै गएको छ। यस युद्धमा हालसम्म ५९,५८७ भन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन् भने इजरायलले मानवीय सहायताको आपूर्ति सीमित गरेकाले गाजामा भोकमरीको गम्भीर संकट उत्पन्न भएको छ।
स्रोत: अल जजिरा
