हेडलाइन

स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा ठप्प, एलन मस्कको माफी

स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’ बिहीबार एक दुर्लभ तर गम्भीर अवरोधमा परेको छ, जसले संसारभरका हजारौँ प्रयोगकर्तालाई इन्टरनेटबाट काटिदिएको छ। अल जजिराका अनुसार, यो हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सेवा अवरोधमध्ये एक हो।

स्टारलिंकका संस्थापक तथा स्पेसएक्सका प्रमुख एलन मस्कले सेवा अवरुद्ध भएकोमा माफी माग्दै भनेका छन्, “हामी यस समस्याको मूल कारण पत्ता लगाएर पुनः यस्तो अवस्था नआओस् भन्ने सुनिश्चित गर्नेछौं।”

स्टारलिंक इन्जिनियरिङ विभागका उपप्रमुख माईकल निकोल्सका अनुसार, यो अवरोध करिब दुई घण्टा तीस मिनेटसम्म जारी रह्यो। उनले भने, “मुख्य आन्तरिक सफ्टवेयर प्रणालीहरूमा आएको गम्भीर गडबडीका कारण नेटवर्क ठप्प भएको हो। हामी प्रयोगकर्तासँग असुविधाका लागि क्षमाप्रार्थी छौं।”

अनलाइन सेवा अनुगमन गर्ने ‘डाउन्डिटेक्टर’ले जनाएअनुसार अमेरिकी समय अनुसार दिउँसो ३ बजेदेखि सेवा अवरुद्ध हुन थाल्यो र करिब ६१ हजार प्रयोगकर्ताले समस्या रिपोर्ट गरेका थिए।

हाल स्टारलिंक करिब एक सय चालीस देश तथा भूभागमा छ लाखभन्दा बढी प्रयोगकर्ताले प्रयोग गरिरहेका छन्। इन्टरनेट सेवा कमजोर रहेका ग्रामीण तथा दुर्गम क्षेत्रमा यसको प्रयोग तीव्र रुपमा बढ्दो छ।

स्पेसएक्सले सन् २०२० देखि हालसम्म आठ हजारभन्दा बढी स्टारलिंक स्याटेलाइट प्रक्षेपण गरिसकेको छ, जसले पृथ्वीको नजिकको कक्षमा (लो-अर्थ अर्बिट) विशेष सञ्जाल बनाएको छ।

हालसालै स्टारलिंकले उच्च गतिको सेवा, ठूलो क्षमता र ब्यान्डविथका लागि आफ्नो नेटवर्क प्रणाली अद्यावधिक गरिरहेको छ।

यो अवरोधको कारण सफ्टवेयरमा गडबडी, असफल प्रणाली अद्यावधिक वा सम्भावित साइबर आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि साइबर आक्रमण भएको पुष्टि भने भएको छैन।

उच्च स्थायित्व र तीव्र विस्तारका लागि परिचित यस सेवामा आएको यो असामान्य अवरोधले विश्वभरका प्रयोगकर्तामा असन्तोष र चिन्ता पैदा गरेको छ। तथापि, कम्पनीले समस्या समाधानका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाइसकेको छ।

स्रोत: अल जजिरा

Tags