काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कडेलले जनवादी क्रान्तिको अधुरो खुड्किलो पूरा नगरी कमरेड पुष्पलाल श्रेष्ठको क्रान्तिकारी योगदानको साँचो सम्मान सम्भव नहुने स्पष्ट पारेका छन्।
कोटेश्वरस्थित खड्का पार्टी प्यालेसमा आयोजित पुष्पलालको जन्म शतवार्षिकी तथा ४७ औं स्मृति दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता कडेलले क्रान्तिकारीहरूको बिखण्डन अन्त्य गरी एकताबद्ध संघर्षमार्फत जनवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए।
उहाँले भन्नुभयो, “छरिएर रहेका सम्पूर्ण क्रान्तिकारीहरूलाई एकताबद्ध गर्दै जनवादी क्रान्तिको खुट्किलो पूरा गर्न सके मात्र पुष्पलाल श्रेष्ठको क्रान्तिकारीता, निष्ठा, त्याग, योगदान र श्रमिक वर्गप्रतिको समर्पणको सम्मान हुनेछ।”
कडेलले पुष्पलालको योगदानको न अतिशयोक्ति गर्न न अवमूल्यन गर्न आग्रह गर्दै यस्ता संवेदनशील ऐतिहासिक प्रश्नहरूमा क्रान्तिकारीहरूले सतर्कता अपनाउनुपर्ने बताए। उहाँले पुष्पलाल निजी लाभ, पद वा प्रतिष्ठाको पछि नलागी जीवनको अन्तिम क्षणसम्म क्रान्तिकारी आदर्शमा समर्पित भएको स्मरण गर्दै भने, “उहाँको त्यही निष्ठा आजको पुस्ताका लागि प्रेरणा हो।”
कडेलले २००६ सालमा गठित कम्युनिस्ट पार्टीबाट २००८ सालमा पुष्पलाललाई महामन्त्री पदबाट हटाइनु, त्यसपछि पार्टी बिखण्डनमा जानु र पुनः छरिएका शक्तिहरूलाई समेट्दै जनवादी क्रान्तिको कार्यक्रम तय गर्नुलाई साहसिक र चुनौतीपूर्ण कार्यका रूपमा प्रस्तुत गर्नुभयो।
उहाँले भने, “झापा आन्दोलन र चौथो महाधिवेशनका नेतृत्वहरू तथा पुष्पलालबीच एउटै क्रान्तिकारी लाइन हुँदाहुँदै पनि आपसी एकता नहुनु नै जनवादी क्रान्ति अधुरो रहनुको मूल कारण हो।”
कडेलले विगतमा साम्राज्यवादसँग सम्झौता गरेका पार्टीहरूले जनतासँग आत्मस्वीकृति र क्षमा मागेपछि मात्र एउटै मोर्चामा आउन सकिने स्पष्ट पारे। “जनवादी क्रान्तिको बाँकी खुड्किलो पूरा गर्ने (प्रतिबद्धता, आत्मस्वीकृति, र जनमाफी) यही तीन सर्तमा मात्र एकता सम्भव छ,” कडेलको भनाइ थियो।
उहाँले क्रान्तिकारी धारालाई कमजोर बनाउन सुनियोजित ढंगले विभिन्न शक्ति केन्द्रहरूले भूमिका खेलिरहेको आरोप समेत लगाउनुभयो।
