हेडलाइन

मनुस्मृतिमा वर्ण व्यवस्था

वर्ण व्यवस्थाको मामलामा मनुस्मृतिले ऋग्वेदलाई पछ्याएको छ। ऋग्वेदले समाजलाई ब्राहृमण, क्षत्रिय, बैश्य र शूद्र गरी चार वर्णमा बाँडेको छ। श्रमको विभाजन अनुसार चार वर्ण बिभाजन गरिएको थियो। समाज चलाउन सहज होस् भनेर यसो गरिएको थियो। सुरुमा वर्णहरूमा कुनै भेदभाव थिएन। समाजमा वर्गीय शोषण बढ्दै गएपछि वर्ण व्यवस्था जातीय बिभेदमा बदलिएको थियो।

शूद्र सात तरिकाबाट उत्पत्ति भएको थियो। १) युद्धमा पक्राउ परेका बन्दीहरू, २) पेटको समस्या अर्थात गरीबीका कारण धनीमानीको घरमा दास बन्न तयार भएका मानिसहरू, ३) दासका सन्तान ४) किनिएका मानवहरू, ५) दानको रूपमा प्राप्त भएका व्यक्तिहरू, ६) बुबाआमा दास भएका मानिसहरू र ७) राजा वा राजदण्डको सजायबाट जोगिन दास बन्न तयार भएका मानिसहरू। (शास्त्री, २००२:२८)

मनु स्मृतिले सबै प्रकारका राजनीतिक गतिविधि र सामाजिक चलनहरू वर्ण प्रणालीद्वारा नै सन्चालन हुनु पर्दछ भन्दछ। राज्य वा सरकारको बारेमा मनुले भनेका छन्, “राजाले ७ वा ८ जना मन्त्री नियुक्त गर्नुपर्छ। मन्त्रीहरू त्यस्ता व्यक्ति हुनुपर्छ जसका पुर्खा राजाका इमान्दार अधिकारीहरू थिए। जो हतियार प्रयोग गर्न सक्षम छन्, जो उच्च वर्गका छन् र जो अनुभवी छन्।” (शर्मा, ५००७:१८२)

पक्कै पनि शूद्रले यस्ता चरित्र बोक्न सक्दैनथ्यो। त्यसैले राजाको मन्त्रीका लागि शूद्रहरू उपयुक्त थिएनन्। मनुस्मृतिले न्याय दिदा फरक फरक वर्णलाई फरक व्यवस्था हुनु पर्ने बताएकोछ। कथित माथिल्लो वर्णको लागि सकेसम्म कुनै सजाय नै छैन, सजाय भएमा निक्कै मामुली सजायको व्यवस्था गरिएकोछ। तर तल्लो वर्णका लागि कडा सजायको व्यवस्था गरिएको छ। यदि ब्राहृमणले क्षत्रिय, वैश्य, शूद्रलाई मानहानी गर्छ भने उसलाई क्रमश: ५०, २५, १२ पर्ण (रकम)को सजाय दिइनु पर्दछ। तर यदि शूद्रले द्विज (जनैधारी) को अपमान गर्छ भने उसको जिब्रो काट्नु पर्छ। ब्राहृमणद्वारा नारी, शूद्र, वैश्य र क्षेत्रीयको हत्या गरेको अभियोग लागेमा ब्राहृमणलाई मृत्यु दण्ड दिन मिल्दैन, उसलाई जातविहीन मात्र बनाइनेछ। (उही, पृ.१८६) त्यसरी मनुस्मृतिले न्यायनिसाफ गर्दा कथित तल्लो वर्णलाई कठोर संजाय र ब्राहृमणले जस्तोसुकै अपराध गरे पनि उसको प्राण रक्षा गर्ने व्यवस्था गरेकोछ।

मनुस्मृतिमा चण्डाल, श्वपाक र अन्त्यवासैनको लागि राजाले मृत्यु दण्ड घोषणा गरेका व्यक्तिलाई झुण्डाउने पागलहरूलाई मार्ने काम, निषादको लागि माछा मार्ने काम, मेद, आन्ध्र, मडगु, चुन्चुका लागि जङ्गली जनावरहरूको शिकार गर्ने काम, जनावरहरूलाई समातेर मार्ने काम बताएको छ। मनुस्मृतिमा शूद्र महिलासँग रातभर सुतेको अवस्थामा ब्राहृमणले तीन वर्ष सम्म भिक्षा मागेर हिड्ने र तीन वर्ष सम्म दैनिक धर्मशास्त्र पढेमा पापबाट मुक्ति पाउन सक्छ भनिएकोछ। (उही पृष्ठ १८९) त्यसरी मनुस्मृतिले ब्राहृमणले शूद्र महिला सित सुते पनि जातविहीन हुनवाट जोगाउने व्यवस्थागरेकोछ। तर यदि कुनै ब्राहृमणले शूद्रसँग विवाह गरेमा उसको जातलाई शूद्र बनाइन्छ। हिन्दू धर्मशास्त्रमा पहिलोपटक मनुस्मृतिमा कसैले तल्लो जातमा विवाह गरे उसको जात घटाउने व्यवस्था गरिएको थियो। (उही पृ .१९६) मनुस्मृतिमा शूद्रलाई सम्पत्ति जम्मा गर्ने मौका दिनु हुँदैन भनी उल्लेख गरिएको छ। यदि उनीहरूले सम्पत्ति जम्मा गरे भने उनीहरूले ब्राहृमणहरूलाई दु:ख दिनेछन् भनिएकोछ। (उही पृ. १२५)

शूद्रको सम्पत्तिमा कुनै स्वामित्व थिएन त्यसैले मनुस्मृतिमा शूद्रलाई कर लगाइएको छैन। “शुद्रको छेउमा बसेर नपढ्नुहोस्।” मनुस्मृतिमा उल्लेख छ। (शर्मा, २०६१:४०) मनुस्मृतिले नेपालमा लामो समयदेखि प्रभाव पार्दै आएको छ। लिच्छवी युगमा काठमाडौं उपत्यकामा वर्ण व्यवस्था प्रवेश भएको मानिन्छ। पश्चिमी तराईमा करिब ३ हजार वर्षअघि नरम प्रकारको वर्ण व्यवस्थाको सुरुवात भएको मानिन्छ। राजा जयस्थिति मल्लको पहलमा काठमाडौं उपत्यकामा वर्ण व्यवस्थालाई संस्थागत गरिएको थियो। पाँच जना तराईका मैथिल ब्राहृमणको सहयोगमा जयस्थिति मल्लले नियम बनाएका थिए। त्यसै बेला काठमाडौंको नेवार समाजलाई ६४ जातमा विभाजित गरियो।

पृथ्वीनारायण शाह पछि उनका उत्तराधिकारीहरूले इस्तिहार जारी गरेर कैयौँ जातीय विभेद हुने गरी नियम बसाले। राणा प्रधानमन्त्री जËबहादुरको पालामा मुलुकी ऐन १९१० ले कठोर जातीय विभेदलाई अगाडि बढायो। मुलिकी ऐन २०२० मा जातीयताको प्रश्नमा केही लेखियो तर विभेद गर्नेलाई सँजायको व्यवस्था गरिएन। नेपालको २०४७ को संविधान,२०६३ को अन्तरिम संविधान र २०७२ को संविधान तथा छुवाछूत तथा अपराध कसुर सँजाय ऐन २०६८ ले संवैधानिक र कानुनीरूपमा सुधार गर्दै ल्याएका छन्। समाजमा विगतको तुलनामा केही सुधार पनि आएकोछ तर समाजमा अझै जातीय विभेद हटेको छैन। शिक्षा, सामाजिक चेतनाको विकास र वर्गीय विभेद विरुद्धको सङ्घर्ष सँगसँगै अगाडि बढाएर जातीय विभेदको अन्त्य गर्न सकिने छ।

– रामबहादुर बुढा

सन्दर्भ:
० शर्मा, अर्जुनदेव (अनु. ), (२०६१), मनुस्मृति, काठमाडौं: प्रवेश प्रकाशन।
० शर्मा, रामशरण, (२००७), शुद्रोका प्राचिन इतिहास(हिन्दी),नई दिल्ली:राजकमल प्रकाशन प्रा.लि.
० शास्त्री, रजनिकान्त, (००२), हिन्दू जातिका उत्थान और पतन, इलाहवाद: किताब महल।