नेकपा (एमाले)बाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्दै आएका नेता डा. भीम रावल अब प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्न लागेका छन्।
रावल आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा औपचारिक रूपमा पार्टीमा आबद्ध हुँदैछन्। उक्त कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ।
यसअघि भृकुटीमण्डपमा भएको १० दलको एकता घोषणा कार्यक्रममा नै रावललाई पार्टीमा समावेश गराउने तयारी थियो। सो अवसरमा प्रचण्डले मञ्चबाटै रावल पार्टीमा आउँदै गरेको संकेत दिएका थिए। तर, त्यतिबेला थप छलफल आवश्यक ठहर गर्दै प्रवेश स्थगित गरिएको थियो।

गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला र भानुभक्त जोशीलगायत नेतासँग भएको अन्तिम छलफलपछि रावलले पार्टीमा प्रवेश गर्न सहमति जनाएका हुन्।
एमालेले गत पुसमा अनुशासन उल्लंघनको आरोप लगाउँदै रावललाई पार्टी सदस्यताबाट निस्कासन गरेको थियो।
पार्टीमा छैटौं वरीयता
स्रोतका अनुसार, रावललाई नेपाली कम्युनिस्ट पार्टीमा छैटौं वरीयता (रैंक) दिने सहमति भएको छ। साथै, उनको समूहका नेता तथा कार्यकर्ताहरुलाई पनि संगठनभित्र उचित जिम्मेवारी दिने सहमति भएको बताइएको छ।
६ महिनाभित्र एकता महाधिवेशन आयोजना गर्ने, पार्टीका नीतिगत दस्तावेज तयार गर्ने जिम्मेवारी रावललाई दिने लगायतका बुँदामा समझदारी भएको छ।
‘रावलजूसँग पाँच बुँदे सहमति भएको छ, जसको विवरण आजको कार्यक्रममा सार्वजनिक गरिनेछ,’ एक स्रोतले जानकारी दियो।
