काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले अहिले पनि देशमा जनगणतन्त्रको स्थापना हुन नसकेको बताएका छन्।
ललितपुरमा बिहीबार क्रान्तिकारी युवा लिगद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान गणतन्त्रलाई बुर्जुवा गणतन्त्रको संज्ञा दिँदै पुँजीपति, दलाल र नोकरशाही वर्गको सत्ता मात्र कायम रहेको दाबी गरे। उनका अनुसार, “यो बुर्जुवा गणतन्त्रले देशको विकास गर्न सक्दैन।”
गजुरेलले आफूहरु जनगणतन्त्र स्थापनाको लक्ष्य लिएर संघर्षमा होमिएको तर पुष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबुराम भट्टराईको गद्दारीका कारण त्यो लक्ष्य अधुरो रहेको बताए। उनले आरोप लगाए, “नेपाली कांग्रेसको एजेन्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिँडिरहेका छन्। जनगणतन्त्र आएको छैन। यो हाम्रो लडाइँको लक्ष्य थिएन।”
उनको भनाइमा, अहिलेको गणतन्त्रले जनताको पक्षमा काम गर्न नसकेको स्पष्ट भइसकेको छ। “हामी बुर्जुवा गणतन्त्रका लागि लडेका होइनौं,” उनले भने, “यो प्रणालीले जनताको पक्षमा विकास र परिवर्तन सम्भव छैन।”
गजुरेलले वर्तमान व्यवस्था परिवर्तन नभएसम्म जनगणतन्त्र स्थापनाको लागि पुनः क्रान्तिकारी धार मजबुत बनाउनुपर्नेमा जोड दिए।
