हेडलाइन

फिलिपिन्समा प्राकृतिक प्रकोप: ३० को मृत्यु, लाखौं प्रभावित

मनिला । फिलिपिन्समा गत साता यता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको छ। फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले दिएको जानकारीअनुसार तीमध्ये १३ जनाको मृत्यु पुष्टि भइसकेको छ भने बाँकीको पहिचान प्रक्रिया जारी छ।

यस्तै, सात जना अझै बेपत्ता रहेका छन्। केही आकस्मिक बाढीले बगाएको र केही पहिरोमा पुरिएको आशंका गरिएको छ। घटनाहरूमा परी कम्तीमा १० जना घाइते भएका छन्।

प्राकृतिक प्रकोपबाट देशभर करिब १४ लाख ६० हजार परिवार प्रभावित भएका छन्, जसमा करिब ५३ लाख मानिस समावेश छन्। नागरिक सुरक्षा कार्यालयका अनुसार देशका ८८ शहर तथा नगरपालिकाले प्रकोपको अवस्था घोषणा गरिसकेका छन्, जसले राहत तथा उद्धार कार्यलाई तीव्र बनाउने अपेक्षा गरिएको छ।

हाल ‘विपा’, ‘फ्रान्सिस्को’ र ‘को–मे’ नामक आँधीहरू फिलिपिन्सको भूभागबाट बाहिरिसकेका छन्। तर, मौसम पूर्वानुमान विभागले लुजोन टापुको केही भागमा अझै केही दिनसम्म भारी वर्षा जारी रहने सम्भावना रहेको चेतावनी दिएको छ।

फिलिपिन्समा हरेक वर्ष झन्डै २० वटा आँधीबेहरी आउने गर्छन्, जसले बारम्बार ठूलो जनधनको क्षति पुर्याउँदै आएको छ।