बेइजिङ । दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा चीनले आगामी हप्ता बेइजिङको तियानमेन स्क्वायरमा आयोजना गर्ने भव्य सैन्य परेडमा उत्तर कोरियाली नेता किम जोङ–उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने भएका छन्। चीनको विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उनीहरूलाई विशेष पाहुनाका रूपमा आमन्त्रण गरिएको उल्लेख छ।
‘विजय दिवस’ नाम दिइएको परेडमा हजारौं सहभागी हुने अपेक्षा गरिएको छ र चीनले आफ्नो नवीनतम सैन्य प्रविधिको प्रदर्शन गर्ने तयारी गरेको छ। इरानी राष्ट्रपति मसूद पेजेश्कियान, बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को, इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तो लगायतका विश्व नेताहरू पनि सहभागी हुनेछन्। दक्षिण कोरियाबाट राष्ट्रिय सभाका सभामुख वू वोन-शिक र स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको समेत उपस्थित हुनेछन्।
परेड सेप्टेम्बर ३, १९४५ को दिनसँग मेल खान्छ, जसदिन जापान साम्राज्यले मित्र राष्ट्र सेनासामु आत्मसमर्पण गर्दै दोस्रो विश्वयुद्ध औपचारिक रूपमा समाप्त भएको थियो। यसपटक किम, पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई परेडको केन्द्रबिन्दुमा राखिनेछ।
चीन र उत्तर कोरिया लामो समयदेखि रणनीतिक सहयोगी मानिन्छन् भने २०२२ मा युक्रेनमाथि रूसको आक्रमणपछि बेइजिङ–मस्को सम्बन्ध झनै गहिरो भएको छ। चीनले रूसी ऊर्जा खरिदलाई निरन्तरता दिएको छ र दोहोरो प्रयोजनका प्रविधि तथा पार्टपुर्जा आपूर्ति गरिरहेको आरोप छ। उत्तर कोरिया पनि हालै रुसी सेनालाई हतियार र आपूर्ति पठाउँदै आएको अन्तर्राष्ट्रिय रिपोर्टमा उल्लेख छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परेडमा उपस्थित हुने नहुने प्रष्ट भइसकेको छैन। तर उनी चीनको तियानजिनमा हुने सांघाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा भने सहभागी हुने कार्यक्रम रहेको छ।
